काठमाडौँ, १३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ७५ जिल्लामा मतपत्र र आवश्यक निर्वाचन सामग्री पुर्याएको छ। काठमाडौँ र भक्तपुरबाहेक मुलुकका सबै जिल्लामा सामग्री ढुवानी सम्पन्न भएको आयोगले जनाएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र ‘समानुपातिक निर्वाचन प्रणाली’ दुवैतर्फका मतपत्रहरू सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयहरूमा पुर्याइएको छ।
सहायक प्रवक्ता जिसीले जानकारी दिए अनुसार काठमाडौँ र भक्तपुरका लागि भने भोलि बिहीबार मात्र निर्वाचन सामग्री र मतपत्र पुर्याइने तालिका रहेको छ। उपत्यकाका यी दुई जिल्ला नजिक भएकाले अन्तिम चरणमा ढुवानी गर्न लागिएको हो।
निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले जनशक्ति परिचालन, सुरक्षा व्यवस्था र मतदान केन्द्रको व्यवस्थापन लगायतका प्राविधिक तयारीलाई समेत तीव्र पारेको छ।