लोकतन्त्रलाई 'हाइज्याक' हुनबाट बचाउन बदलिएको कांग्रेस सक्षम छ: गगन थापा

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष स्पष्ट योजनाका साथ राष्ट्र निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विगतमा प्राप्त अवसरहरूको पूर्ण सदुपयोग हुन नसकेको स्वीकार गरे। उनले अबको पाँच वर्ष देशलाई कुनै पनि किसिमको दुर्घटनामा पर्न नदिई सबै पक्षलाई समेटेर अघि बढ्ने योजना सुनाए।

उनले भने, “विगतमा पटक-पटक अवसर पाउँदा त्यसलाई पूर्ण रूपमा सदुपयोग गर्न सकेनौँ, तर अब आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणमा लाग्ने योजनाका साथ अघि बढ्नेछौँ।” सभापति थापाले पार्टीको चुनावी ‘प्रतिज्ञा पत्र’ मा पाँच वर्षभित्र ठोस परिणाम दिने योजनाहरू समावेश गरिएको जानकारी दिए। इतिहासका विभिन्न घटनाक्रमबाट प्रेरणा लिँदै कांग्रेसले वर्तमान युवा पुस्ताले खोजे जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको उनको भनाइ थियो।

देश बनाउन सक्ने सबैभन्दा पुरानो र अनुभवी शक्ति कांग्रेस नै भएको दाबी गर्दै उनले पार्टीका एजेन्डाहरूलाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए। थापाले भने, “नेपाललाई अहिले बृहत्तर सुधार चाहिएको छ। हामी सुधारको ग्यारेन्टी लिएर नै चुनावमा होमिएका हौँ।”

मुलुकको समृद्धिका लागि सबै राजनीतिक दलहरूलाई मिलाएर लैजानुपर्ने र त्यसको नेतृत्व कांग्रेसले नै गर्ने उनको धारणा थियो। उनले लोकतन्त्रलाई ‘हाइज्याक’ हुनबाट जोगाउन, सेवा प्रवाह (डेलिभरी) चुस्त बनाउन र अपेक्षित परिणाम निकाल्न ‘बदलिएर आएको कांग्रेस’ पूर्ण रूपमा सक्षम रहेको दाबी गरे।

प्रतिक्रिया