काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिन ताप्लेजुङको पाथीभरा र सदरमुकाम फुङलिङ क्षेत्रको दुई दिने भ्रमण गरेकी छन्। बिहानै पाथीभराको दर्शन गरेपछि उनले त्यहाँ भेला भएका स्थानीय बासिन्दा र विभिन्न क्षेत्रबाट आएका दर्शनार्थीहरूसँग अन्तर्क्रिया गर्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन सबैलाई सक्रिय भूमिका खेल्न आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ। तपाईँहरू सबै जना मतदान गरिदिनुहोला। चुनावलाई शान्तिपूर्ण बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला। यसपालिको चुनाव अरू नियमितजस्तो सामान्य चुनाव होइन। यो विशेष अवस्थामा हुन लागेको चुनाव हो। यसले देशलाई निकास दिनुपर्छ। देशको भविष्य कोर्ने चुनाव हो यो।’ पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पुजारी डिल्लीरमण पौडेललगायतले प्रधानमन्त्री कार्कीलाई स्वागत गरेका थिए।
पाथीभराबाट आजै फुङलिङ पुगेकी प्रधानमन्त्री कार्कीले सरकारी अधिकारीहरूसँग निर्वाचन तयारी, सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे विस्तृत छलफल गरिन्। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार ९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङमा एक मात्र निर्वाचन क्षेत्र छ भने दुई अस्थायी केन्द्रसहित ८२ मतदानस्थल निर्धारण गरिएको छ। तीमध्ये चार मतदानस्थल भौगोलिक रूपमा विकट हिमाली क्षेत्रमा पर्दछन्। हालसम्म मौसम सामान्य रहे पनि हिमपात भएमा कर्मचारी आवतजावतमा कठिनाइ हुन सक्ने र मतपेटिका ढुवानीका लागि हेलिकप्टरको व्यवस्था आवश्यक पर्न सक्ने विषयमा उनले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका थिए।
अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको र चारवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम रहेकाले आगामी दिनमा पनि निर्वाचन गतिविधि सहज रूपमा सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिएको थियो।
छलफलको समापन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिताका दृष्टिले भविष्यका लागि उदाहरणीय मानक बनाउन निर्देशन दिइन्। उनले भनिन्, ‘तपाईँहरूले निर्वाचनका लागि गर्नुभएको प्रयास सह्राहनीय छ। तपाईँहरू यसरी खटेको देखेर मेरो आत्मविश्वास अझै बढेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो चुनाव मुलुकलाई एउटा नयाँ चरणमा रूपान्तरण गर्ने महत्त्वपूर्ण कोशेढुंगा हो। राष्ट्रको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले त्यही प्रकारको गम्भीरता र जिम्मेवारीबोध हामी सबैमा हुनु जरुरी छ। त्यसैले भविष्यका लागि पनि यो चुनाव मानक बन्नुपर्छ। शान्ति, सुरक्षा, स्वच्छता, मितव्ययिता सबै कोणबाट मानक बन्ने गरी काम गरिदिनुहोस्। जसरी हुन्छ, यति गरिदिनुहोस्।’
प्रधानमन्त्री कार्की दुई दिने भ्रमण सम्पन्न गरी आजै काठमाडौं फर्किएकी छन्।