काठमाडौं । रुकुम पश्चिममा चुनावी सरगर्मी बढ्दै जाँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ। सो पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई जिताउन सहयोग गर्ने घोषणा गरेका हुन्।
नेकपाका संयोजक प्रचण्डको साथ छाडेपछि शर्मा पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्। उनले वि.सं. २०६४ सालदेखि तत्कालीन माओवादी केन्द्रबाट सो क्षेत्रमा लगातार जित हासिल गर्दै आएका छन्। यसपटकको निर्वाचनमा शर्मालाई नेकपा एमालेले पनि समर्थन गरेको छ।
रुकुम पश्चिममा चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ। यहाँ एमालेका तर्फबाट नन्दराम देवकोटा, नेपाली कांग्रेसबाट राजु केसी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मानबहादुर शाहीलगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन्। उज्यालो नेपाल पार्टीको पछिल्लो निर्णयले शर्माको चुनावी अभियानमा थप बल पुग्ने आकलन गरिएको छ।