कहिले हुन्छ ए डिभिजिन लिग? एन्फा विरुद्ध खेलाडी निस्किए सडकमा

nepaltext.com

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग नगर्ने निर्णय गरेपछि असन्तुष्ट खेलाडीहरू बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयको गेट अगाडि धर्नामा बसेका छन्। करिब डेढ घन्टा चलेको धर्नामा राष्ट्रिय फुटबल टोलीका खेलाडीदेखि विभिन्न क्लबका खेलाडीहरूले सहभागी भएर एन्फाको निर्णयप्रति कडा आपत्ति जनाएका थिए।

नेपाल फुटबल खेलाडी संघको आह्वानमा भएको उक्त धर्नामा खेलाडीहरूले आफूहरूले जितेका पदकहरू समेत एन्फाको गेटमा झुन्ड्याएर प्रतीकात्मक रूपमा असन्तुष्टि व्यक्त गरे। पदक झुन्ड्याउने क्रममा खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, “मेडल जित्नका लागि कति संघर्ष, कति तपस्या र कति पसिना बगाउनुपर्छ भन्ने कुरा उहाँहरूलाई थाहा होला। तर जब लिग नै हुँदैन भने त्यही मेहनतको अर्थ के रहन्छ?” उनले थपे, “मेडल एन्फा आफैंले लगाओस्, हामी छाडेर जान्छौं।”

लामाले चेतावनी दिँदै भने, “अबको एक साताभित्र एन्फाले लिग सम्बन्धी ठोस निर्णय नगरेमा अझ ठूलो संख्यामा खेलाडी एन्फा मुख्यालय पुग्नेछन् र त्यसपछिको जिम्मेवारी एन्फा नेतृत्वले लिनुपर्नेछ।” उनका अनुसार खेलाडीहरूले पछिल्ला दुई वर्षयता एन्फासँग बारम्बार आग्रह गर्दा पनि लिग आयोजना नगरेकाले आफूहरू आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका हुन्।

एन्फा र ए डिभिजन खेल्ने १४ क्लबबीच यसअघि भएको छलफलमा यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्रै गर्ने सहमति भएको थियो। उक्त सहमति अनुसार तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र हाल हेटौँडामा भइरहेको एन्फा प्रेसिडेन्ट लिगका सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग आयोजना गरिने निर्णय गरिएको छ।

राष्ट्रिय लिगमा गत संस्करणका च्याम्पियन चर्च ब्वाइज, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिम सहभागी हुने छन्। तर बाँकी आठ ए डिभिजन क्लबहरूको प्रतिनिधित्व हुनेछैन। यसपटकको लिगमा रेलिगेसन प्रणाली नहुने भएपछि धेरैले लिगको प्रतिस्पर्धात्मकता र रौनक घट्ने चिन्ता व्यक्त गरेका छन्।

खेलाडी संघका प्रतिनिधिहरूले एन्फाको यस निर्णयले खेलाडीको भविष्यमा प्रत्यक्ष असर पार्ने दाबी गरेका छन्। उनीहरूका अनुसार नियमित लिग नहुँदा खेलाडीहरू बेरोजगार भइरहेका छन्, जसले नेपाली फुटबलको गुणस्तरमा समेत असर पारेको छ। एन्फा मुख्यालयमा धर्ना चलिरहेका बेला सुरक्षा व्यवस्था कडा पारिएको थियो। गेट बाहिर खेलाडीहरूले ‘हाम्रो हकको सम्मान गर’, ‘लिग गर्नुपर्छ’, ‘फुटबलको भविष्य बचाऊ’ जस्ता नारा लगाएका थिए।

एन्फाका पदाधिकारी भने त्यस बेला उपत्यकाबाहिरको कार्यक्रममा व्यस्त रहेका थिए। धर्ना सकेपछि खेलाडीहरूले भने, “हामीले हतियार होइन, बल खेल्ने हातमा समाएका छौं। तर हाम्रा हातहरू अब मैदानमा होइन, सडकमा पुगेका छन्। यदि एन्फाले हाम्रो माग सुन्दैन भने यो आन्दोलन अझ ठूलो स्वरूपमा अघि बढ्नेछ।”

प्रतिक्रिया