भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने प्रत्यक्षतर्फका सम्पूर्ण मतपत्रहरूको छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आयोगले दिएको जिम्मेवारी निर्धारित समयभन्दा अगावै पूरा गरेको हो।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फको २ करोड ३ लाख थान मतपत्र छपाइको काम सोमबार साँझ सम्पन्न भएको छ। "हामीले ४२ दिनको कार्यतालिका तय गरेका थियौँ, तर ४० दिनमै काम सम्पन्न गर्न सफल भयौँ," प्रबन्ध निर्देशक पौडेलले भने। आजदेखि छपाइ भएका मतपत्रहरूको 'प्याकेजिङ' सकेर सम्बन्धित प्रदेशहरूमा ढुवानीको प्रक्रिया सुरु गरिने उनले जानकारी दिए।
केन्द्रले दैनिक १३ देखि १५ लाखका दरले मतपत्र छपाइ गर्दै आएको थियो। हालसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी जिल्लाहरूमा आगामी १० दिनभित्र मतपत्र पुर्याइसक्ने लक्ष्य राखिएको छ।
यसअघि नै १० लाख थान नमुना मतपत्र छपाइ गरी आयोगले विभिन्न स्थानमा पठाइसकेको छ। त्यस्तै, २ करोड ८ लाख ३० हजार थान समानुपातिकतर्फको मतपत्र पनि जिल्ला-जिल्लामा पठाउने कार्य जारी रहेको केन्द्रले जनाएको छ। प्रत्यक्षतर्फको छपाइ सकिएसँगै अब निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।