नेप्से परिसूचक घट्यो, २६६२.१४ विन्दुमा बन्द

nepaltext.com

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.२६ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले क्रमशः गिरावट देखाएको छ। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उक्लिएको छ। आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाईमूल्य करिब ४ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार साढे ४० करोड रुपैयाँभन्दा बढी भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ। १३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको देखिएको छ भने विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया