एमाले महाधिवेशन प्रतिनिधि छनोट विधि संशोधन, प्रतिनिधि संख्या र निर्वाचन शुल्क दुवै बढ्न सक्ने संकेत

nepaltext.com

एमाले सचिवालयको बैठकले महाधिवेशन प्रतिनिधि चयन सम्बन्धी प्रस्ताव पुनःसमायोजन गर्दै प्रतिनिधि छनोटको संरचना अझ स्पष्ट र समावेशी बनाएको छ। अब भूगोल, दलित, उपत्यका विशेष तथा सम्पर्क समन्वय अन्तर्गत आम सदस्यबाट हुने निर्वाचनमा शेष मत ५० प्रतिशतभन्दा बढी आए अतिरिक्त एक जना प्रतिनिधि थपिने व्यवस्था मिलाइएको छ।

त्यस्तै, प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय समितिबाट प्रदेश कमिटी सरह कम्तीमा २ महिला सहित ५ जना प्रतिनिधि छान्ने निर्णय भएको छ। उपत्यका विशेष र सम्पर्क समन्वयका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्लाका कमिटी समान १२०० सदस्यभित्र ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकतापूर्वक चयन गरिनेछ।

घरफिर्ती अभियानमार्फत विभिन्न वामपन्थी समूहबाट एमालेमा आएका व्यक्तिहरूमध्ये ती समूहका केन्द्रीय समितिमा बसेकालाई विशेष व्यवस्थाअन्तर्गत आगामी एघारौँ महाधिवेशनका प्रतिनिधि कायम गरिने पार्टीले जनाएको छ। यस्तो व्यवस्थाले प्रतिनिधिको संख्या पहिले अनुमान गरिएको २१ सय २७ को हाराहारीभन्दा केही बढ्न सक्ने एमाले नेताहरूको आकलन छ।

एमालेले देशभर मंसिर १३ गते एकैदिन महाधिवेशन प्रतिनिधि चयन गर्ने र महाधिवेशन सञ्चालनका लागि १४ वटा समिति गठन गरिसकेको जानकारी दिएको छ।

प्रतिक्रिया