झापा–२ मा पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानामगर आमनेसामने

nepaltext.com

काठमाडौं । झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगरबीच रोचक चुनावी भिडन्त हुने भएको छ । घिमिरे नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् भने रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा उत्रिएकी हुन् । सुरुमा रास्वपाले झापा–२ मा निशा डाँगीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो, तर रानामगरले सुरुदेखि नै यही क्षेत्रबाट लड्ने दाबी गर्दै आइरहेकी थिइन् । पार्टी नेतृत्वले उनलाई उदयपुर–२ बाट उम्मेदवार बन्न प्रस्ताव गरे पनि उनले अस्वीकार गरेपछि अन्ततः डाँगीलाई झापा–१ मा सारेर रानामगरलाई झापा–२ को टिकट दिइएको हो । दुवै उम्मेदवार झापा–२ कै स्थायी बासिन्दा हुन् । रानामगर यसअघि समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् र रास्वपाकै तर्फबाट उपसभामुख समेत भएकी थिइन्, तर कार्यकालका क्रममा केही व्यक्तिलाई अमेरिकी भिसाका लागि दूतावासमा उपसभामुखको लेटरहेड प्रयोग गरी सिफारिस पत्र लेखेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् । उता, सभामुख रहँदा घिमिरे कुनै ठूला काण्डमा नपरे पनि संसद् सञ्चालनमा सन्तुलन कायम गर्न नसकेको र एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार चल्ने गरेको आरोपबाट भने मुक्त हुन सकेनन् । घिमिरे अघिल्लो निर्वाचनमा पनि झापा–२ बाटै निर्वाचित भएका थिए, जसका कारण यसपटकको प्रतिस्पर्धालाई थप चासोका साथ हेरिएको छ।

प्रतिक्रिया