काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले आगामी संघीय चुनावमा पार्टीले गगनकुमार थापालाई भावी सभापति र प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्नुपर्ने बताएका छन्।
बुधबार सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका आधारमा अब नयाँ नेतृत्वलाई अगाडि ल्याउने समय आएको बताए।
उनले भने, “जसको प्रभाव छ, त्यसको मूल्यांकन गरेर यही बैठकबाट नयाँ निर्णय गरौँ। संघीय निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट ‘प्रधानमन्त्रीका उम्मेदवार गगन थापा’ भनेर चुनावमा जाऔँ।”
मन्सुरले आफू खुलेर बोल्ने व्यक्ति भएको उल्लेख गर्दै आम जनतामाझ गगन थापाको लोकप्रियता उच्च रहेको दाबी गरे। “म कुरा लुकाएर हिँड्ने मान्छे होइन। अहिले नेपाली जनताले कांग्रेसको सभापति र प्रधानमन्त्रीका उम्मेदवार गगन भए राम्रो हुन्छ भनेको मैले सुनेको छु,” उनले भने।
उनका अनुसार महामन्त्री थापाको सक्रियताकै कारण विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर संकलन सम्भव भएको हो।