झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण 'स्टन्टबाजी' गर्ने र 'पपुलिस्ट' शक्तिहरूले परिस्थितिको नाजायज फाइदा लिन थालेको बताएका छन्।
मंगलबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ का मतदातासामु चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै अध्यक्ष ओलीले पपुलिस्टहरूको कुनै स्पष्ट दर्शन, नीति वा कार्यक्रम नहुने टिप्पणी गरे। "स्टन्टबाजी गर्नेहरूको काम केवल चर्का र देखावटी नारा लगाउनु मात्र हो," उनले भने, "यस्ता नाराले सर्वसाधारणमा केही समयका लागि भ्रम पैदा गर्ने गरेको छ।"
अध्यक्ष ओलीले प्रविधिको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यमबाट तथ्यहीन कुराहरू सम्प्रेषण भइरहेको बताए। विशेष गरी 'आर्टिफिसियल इन्टेलिजेन्स' (AI) को नियमन गर्ने कानुनको अभावमा यसको व्यापक दुरुपयोग भइरहेको र मानिसहरूलाई भ्रमित तुल्याइएको उनको भनाइ थियो। उनले अनियन्त्रित प्रविधिले समाजमा गलत भाष्य निर्माण गरिरहेको तर्फ सचेत गराए।
एमालेको मूल मन्त्र ‘सुखी नेपाली समृद्ध नेपाल’ को विकल्प नरहेको दाबी गर्दै ओलीले आफ्नो पार्टी जनता र कार्यकर्तामा आधारित शक्ति भएको उल्लेख गरे। उनले विगतका सरकारले गरेका राम्रा कामहरूको संरक्षण गर्ने र अधुरा रहेका विकासका आयोजनाहरूलाई पूर्णता दिने जिम्मेवारीप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताए।
झापा-५ मा आयोजित कार्यक्रममा उनले मतदाताहरूलाई कुनै पनि प्रकारका भ्रममा नपर्न र देशको समृद्धिका लागि स्पष्ट दृष्टिकोण भएको नेतृत्व चयन गर्न आह्वान समेत गरे।