उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निष्कर्ष: शान्ति सुरक्षा मजबुत छ, निर्भयपूर्वक मतदान गर्ने वातावरण छ l

nepaltext.com

काठमाडौँ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले आगामी निर्वाचनका लागि अहिलेसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ। निर्वाचन आयोगमा मङ्गलवार बसेको समितिको बैठकले सुरक्षा व्यवस्था मजबुत रहेको र निर्वाचनका लागि शान्तिपूर्ण वातावरण रहेको ठहर गरेको हो। बैठकमा विभिन्न सुरक्षा निकायका प्रमुखहरूले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे ब्रिफिङ गर्दै निर्वाचन सम्पन्न गर्न सुरक्षा संयन्त्र पूर्ण रूपमा तयार रहेको जानकारी दिनुभएको थियो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा निर्वाचनका क्रममा आउन सक्ने सम्भावित चुनौती र तिनको उचित समाधानका विषयमा विस्तृत छलफल भएको थियो। सुरक्षा प्रमुखहरूले राजनीतिक दलहरूले आफ्ना चुनावी गतिविधिहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न र मतदाताले विना कुनै डर त्रास मतदान गर्नका लागि अनुकूल वातावरण रहेको सुनिश्चित गर्नुभएको छ। केही स्थानमा भएका सानातिना घटनालाई स्थानीय प्रशासनको सक्रियताले नियन्त्रणमा लिएको र कुनै अप्रिय घटना हुन नपाएको जानकारी दिँदै प्रवक्ता भट्टराईले सबैतिरको माहोल निर्वाचनमय हुँदै गएको बताउनुभयो।

त्यसैगरी, मतदातालाई मतदानका लागि सहज रूपमा आफ्नो थातथलोमा पुग्न र फर्कन सुविधा होस् भन्ने उद्देश्यले आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। यस सिफारिस कार्यान्वयन भएमा निर्वाचनमा आम नागरिकको सक्रियतापूर्वक सहभागिता हुने विश्वास आयोगले व्यक्त गरेको छ। आयोगले मतदानका लागि सबै सुरक्षा र प्रशासनिक प्रबन्धहरूलाई चुस्त बनाइएको उल्लेख गर्दै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह समेत गरेको छ।

प्रतिक्रिया