‘कांग्रेस बदलिएर आएको छ, कांग्रेसप्रतिको विश्वासलाई भोटमा बदल्नुस्’: गगन थापा

nepaltext.com

सुनसरी–२ को झुम्कामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसप्रति जनताले गरेको विश्वासलाई अब मतमा रूपान्तरण गर्न आग्रह गरेका छन्। नेता तथा कार्यकर्तामाझ बोल्दै थापाले आफू र पार्टीलाई दिएको माया र विश्वासको सम्मान गर्न अब मतदानमार्फत समर्थन जनाउनुपर्ने बताए। उनले भने, ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’ थापाले कांग्रेसले बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतासमक्ष स्पष्ट रूपमा राख्न नेता कार्यकर्तालाई आग्रह गर्दै भने, ‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला ।’ उनले आफू जनताको विश्वासमा परेको उल्लेख गर्दै पार्टी अब बदलिएर आएको दाबी गरे। ‘म तपाईँहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ,’ थापाले भने। उनले निर्वाचन आचारसंहिताका कारण अहिले धेरै कुरा खुलस्त रूपमा राख्न नसकिने अवस्था रहेको बताउँदै बदलिएर आएको कांग्रेसले अब भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्न आधारसहित काम गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया