काठमाडौं । नेपाली कांग्रेसले आइतबार निर्वाचन आयोगमा पुगेर आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि दल दर्ता प्रक्रिया पूरा गरेको छ। दल दर्ताका सम्पूर्ण औपचारिकता सम्पन्न भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं,’ पौडेलले अनलाइनखबरसँग भने। उनका अनुसार कांग्रेसले आवश्यक सबै कागजी प्रक्रिया पूरा गर्दै दुवै तहका निर्वाचनमा सहभागिताको तयारीलाई संस्थागत रूप दिएको छ।
कांग्रेसले हिजोमात्रै प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको थियो। अब माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सञ्चालन हुने कार्यक्रमअनुसार कांग्रेस सक्रिय रूपमा तयारीमा जुटेको छ।
८ मङ्सिर २०८२, आईतबार ०४:२३ मा प्रकाशित