काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिँदा सामाजिक सञ्जालमा चासो र कौतुहल बढिरहेको छ। चुनावमा बहुमत ल्याउने लक्ष्य बोकेको पार्टीका मुख्य कमाण्डर नै लामो समय ‘गायब’ जस्तै देखिँदा समर्थक र सर्वसाधारणबीच स्वाभाविक रूपमा चिन्ता र विभिन्न अड्कलहरू सुरु भएका छन्। सामाजिक सञ्जालमा कतिपयले अनेकखाले षड्यन्त्रका सिद्धान्त अघि सारेका छन् भने केहीले त उनी राजनीतिक नजरबन्दमा परेको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्। तर, निकट स्रोतका अनुसार रवि लामिछाने सार्वजनिक कार्यक्रममा नदेखिनुको मुख्य कारण खुट्टामा लागेको चोट हो।
झापामा आयोजित रास्वपाको जनसभास्थलतर्फ जाँदै गर्दा पर्खालमा ठोक्किएर रविलाई खुट्टामा चोट लागेको थियो। सुरुमा सामान्य ठानिएको उक्त चोटले क्रमशः समस्या बढाउँदै लगेपछि उनलाई अहिले पनि पीडा दिइरहेको छ। झापाबाट चितवन हुँदै काठमाडौं फर्किएका रवि लामिछाने अहिलेसम्म सहज रूपमा हिँडडुल गर्न सकेका छैनन्। घुँडाभन्दा मुनि लागेको चोट बढेर भित्री तहसम्म इन्फेक्सन भएपछि उनी १३ माघमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। तीन दिन उपचारपछि डिस्चार्ज भए पनि त्यसयता उनी घरमै आराम गरिरहेका छन्।
घाउ क्रमशः सुधारतर्फ उन्मुख भए पनि पूर्ण रूपमा निको भइसकेको छैन। चोट लागेको स्थानमा गहिरो खाल्डो बनेको छ र उनी दिनहुँ ड्रेसिङका लागि मेडिकल जाने गरेका छन्। निकटस्थ स्रोतका अनुसार अहिले उनलाई शौचालय जानसमेत अरूको सहारा आवश्यक पर्ने अवस्था छ। ‘चुनावको मुखमा घाउले धेरै दुःख दियो, तर अब उहाँ बाहिर निस्किने तयारीमा हुनुहुन्छ,’ एक निकट स्रोतले बताएको छ।
रवि लामिछानेले आजै चितवन जाने योजना बनाएका थिए। तर चिकित्सकले हाल नजान सुझाव दिएपछि उनी रोकिएका छन्। यद्यपि, उनी धेरै दिन काठमाडौंमै बसिरहने मुडमा नरहेको र भोलि–पर्सीमै चितवन जान सक्ने बुझिएको छ। चितवन पुगेपछि पनि उनी सक्रिय रूपमा चुनावी प्रचारमा हिँड्न सक्ने अवस्थामा भने छैनन्। तर घरमै बसिरहनुभन्दा आफ्नो चुनाव क्षेत्रमै गएर आराम गर्ने सोचमा रहेको निकट स्रोतले जनाएको छ।