दोलखा । प्रतिनिधिसभा निर्वाचनको संघारमा दोलखामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ठूलो झट्का लागेको छ। एमाले विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठको नेतृत्वमा दर्जनौँ प्रभावशाली नेता-कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन्।
एमाले परित्याग गर्नेहरूमा विगु-१ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ र सीतादेवी श्रेष्ठ रहेका छन्। त्यस्तै, एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगरले पनि कांग्रेसको सदस्यता लिएका छन्। यता माओवादी केन्द्रबाट साङछिरी तामाङ, कुमार विक र रन्जिमाया तामाङसहितको टोली कांग्रेस प्रवेश गरेको छ।
पार्टी प्रवेशपछि बोल्दै उपाध्यक्ष श्रेष्ठले देशलाई अजयबाबु शिवाकोटी जस्तो स्वच्छ र भ्रष्टाचार विरोधी नेतृत्वको आवश्यकता रहेकाले आफूले कांग्रेस रोजेको बताए। उनले भने, "कांग्रेस बदलिएर आएको छ। विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्व आवश्यक महसुस गर्दै हामीले यो निर्णय लिएका हौँ।"
नवप्रवेशीहरूलाई कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा ओढाएर स्वागत गरेका थिए। स्वागत कार्यक्रममा बोल्दै उम्मेदवार शिवाकोटीले ग्याल्पो ल्होसारको अवसरमा विगुका प्रभावशाली नेताहरू कांग्रेसमा आउनुले एमालेमा 'भूकम्प' गएको टिप्पणी गरे। उनले भने, "शेषनारायणजी सहितको टोलीले जुन आँट देखाएर कांग्रेस रोज्नुभयो, यसले दोलखामा कांग्रेसको विजयको ध्वजा फैलाउँदैछ भन्ने स्पष्ट सन्देश दिएको छ।"
कार्यक्रममा कांग्रेस दोलखाका सचिवद्वय सन्तोष पाठक 'रन्जित' र दावा साङ्गे लामासहित नेविसंघ र तरुण दलका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। निर्वाचन नजिकिँदै गर्दा दोलखाका विभिन्न क्षेत्रमा पार्टी प्रवेशको लहरले कांग्रेसको चुनावी अभियानलाई थप ऊर्जा मिलेको छ।