काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक परिवेशमा कांग्रेस जनताको विश्वास जित्ने दिशामा अघि बढिरहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई कांग्रेसमा स्वागत गर्दै उनले आगामी निर्वाचनमा पार्टी बहुमत नजिक पुग्ने दाबी गरेका हुन्।
शर्माले नागरिकले अपेक्षा गरेअनुसार कांग्रेसमा आन्तरिक रूपान्तरण भएको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास क्रमशः बढ्दै गएको दाबी गरे। “अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने आधार तयार भइसकेको छ,” उनले भने, “यही गतिमा जनमत विस्तार हुँदै गए आगामी एक हप्ताभित्रै बहुमत ल्याउने तहमा पुग्ने अवस्था सिर्जना हुन्छ।” जेन–जी मुभमेन्टपछि सबैभन्दा धेरै परिवर्तन भएको दल कांग्रेस नै भएको उनको भनाइ थियो।
उनले हल्ला र प्रचारको भरमा होइन, संगठनको जरा मजबुत बनाउने अभियानमार्फत कांग्रेस अघि बढिरहेको बताए। पार्टीका नेता–कार्यकर्ता एकढिक्का भएर संगठन सुदृढीकरणमा लागेकाले आम नागरिकको भरोसा कांग्रेसतर्फ बढ्दै गएको उनको दाबी थियो।
उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरलगायत नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए। पार्टी प्रवेशसँगै कांग्रेसले संगठन विस्तार र जनाधार सुदृढीकरणलाई थप तीव्र बनाउने संकेत दिएको छ।