चरीकोट (दोलखा) । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका उम्मेदवार पार्वत गुरुङको गृहगाउँमा टेलिफोन टावर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
चुनावी अभियानको क्रममा गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५, सुरी पुगेका शिवाकोटीले त्यहाँ मोबाइल नेटवर्कको चरम अभाव देखेपछि यस्तो घोषणा गरेका हुन्। सुरी भ्रमणका क्रममा आफ्नो गाडीमा केही प्राविधिक समस्या आएको र पछाडि रहेका टोलीलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा 'सिग्नल' नभएर फोन नलागेको तितो अनुभव उनले सुनाए।
"हामी यात्रामा थियौँ, साथीहरू कहाँ हुनुहुन्छ भनेर बुझ्न खोज्दा मोबाइलमा टावर नै थिएन," शिवाकोटीले भने, "पूर्वसञ्चारमन्त्री भइसकेको व्यक्तिकै गाउँमा सञ्चारको यस्तो बिजोग देख्दा म अचम्मित र दुःखी भएको छु।"
स्थानीयका अनुसार सुरी क्षेत्र चारैतिर डाँडाले घेरिएकाले चरीकोट वा हनुमन्ते डाँडाका टावरको सिग्नल यहाँसम्म आइपुग्दैन। नेटवर्क खोज्नकै लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। भेटघाटका क्रममा एक वृद्धाले हातमा मोबाइल बोक्दै भनिन्, "नेटवर्क आक्कलझुक्कल मात्रै आउँछ, यो मोबाइल त गीत सुन्न मात्र ठिक्क भएको छ।" अर्का स्थानीयले सञ्चार मात्र नभई यो क्षेत्रमा बस सेवासमेत नियमित नरहेको गुनासो पोखे।
आफ्ना प्रतिस्पर्धी पार्वत गुरुङप्रति लक्षित गर्दै शिवाकोटीले सञ्चार मन्त्रालय सम्हालिसकेको नेताको आफ्नै गाउँ सञ्चारविहीन हुनु विडम्बनापूर्ण रहेको बताए। उनले मतदातासामु वाचा गर्दै भने, "म निर्वाचित भएर गएपछि गर्ने पहिलो काम नै सुरी र यस आसपासका क्षेत्रलाई टेलिफोन नेटवर्कमा जोड्ने हुनेछ। म पार्वत दाइलाई समेत सहजै फोन गर्न मिल्ने गरी अर्को वर्ष यहाँ टावर ठड्याउने छु।"
उनले सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग तत्काल समन्वय गरी सुरीवासीलाई सञ्चारको मूलधारमा ल्याउने प्रतिबद्धता दोहोर्याए।