पत्रकार दिनेश सिटौलाको निधनपछि कानूनी प्रक्रिया आवश्यक पर्न सक्ने भन्दै पोस्टमार्टममा जोड

nepaltext.com

काठमाडौं । उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएको छ। ग्राण्डी अस्पतालमै पुगेका प्रहरी अधिकारीहरूले परिवारलाई पोस्टमार्टम गराउन आग्रह गरेका हुन्। अस्पतालले सिटौलाको मृत्यु ब्रेन ह्यामरेजका कारण भएको स्पष्ट पारे पनि परिवारका सदस्यहरूले सुरुमा अस्पतालबाट आधिकारिक मेडिकल बयान आइसकेकाले पोस्टमार्टम आवश्यक नरहेको अडान लिएका थिए। तर, डीएसपी नवराज पोखरेलले भविष्यमा कुनै कानूनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आए पोस्टमार्टम रिपोर्ट अनिवार्य प्रमाण बन्न सक्ने तर्क गर्दै परिवारलाई बुझाउने प्रयास गरेका छन्। प्रहरीको यस सुझावपछि सिटौलाका परिवारजनहरू अहिले आन्तरिक छलफलमा रहेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीसँगै अछाम गएका बेला पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि आज चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया