काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असाधारण मत प्राप्त गर्दै ५० लाखको आँकडा पार गरेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भइसकेको छ। जसमा रास्वपाले ५० लाख ५२ मत प्राप्त गर्दै अन्य दलहरूलाई निकै पछाडि पारेको छ।
पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस १६ लाख ९२ हजार ७८६ मतसहित दोस्रो स्थानमा छ भने नेकपा एमाले १४ लाख ११ हजार ४२९ मतका साथ तेस्रो स्थानमा रहेको छ। त्यस्तै, चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत ल्याएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणना र मत विभाजक सूत्र (सेन्ट लग विधि) का आधारमा प्रारम्भिक सिट बाँडफाँट गर्दा रास्वपाले ५८ सिट पाउने देखिएको छ। त्यसैगरी कांग्रेसले १९, एमालेले १६ र नेकपाले ९ सिट पाउने आकलन गरिएको छ। साना दलतर्फ श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ।
| राजनीतिक दल | प्राप्त कुल मत | सम्भावित सिट संख्या (अनुमानित) | स्थान |
| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) | ५०,००,०५२ | ५८ | पहिलो |
| नेपाली कांग्रेस | १६,९२,७८६ | १९ | दोस्रो |
| नेकपा (एमाले) | १४,११,४२९ | १६ | तेस्रो |
| नेपाली कम्युनिस्ट पार्टी | ७,६६,८७५ | ९ | चौथो |
| श्रम संस्कृति पार्टी | ३,५८,४१५ | ४ | पाँचौँ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) | ३,२४,८८१ | ४ | छैटौँ |