काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले आफू कसैसँग तालमेल गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीलाई जिताउन वा बालेनको लहर रोक्न नेकपा र एमालेबीच भित्री तालमेल भएको भन्दै फैलाइएको हल्लाको तामाङले कडा शब्दमा खण्डन गरेका हुन्। उनले आफू पार्टी नेतृत्वसँगको सल्लाह बमोजिम नै चुनावी मैदानमा होमिएको र कुनै पनि शक्तिलाई छोड्ने वा समर्थन गर्ने स्थिति नरहेको बताए।
"कहिले टिकट पाउँदैन, कहिले अलायन्स हुन्छ त कहिले कसलाई छोड्छ भन्ने अनेकौँ आरोह-अवरोह र अनुमानहरूलाई गलत साबित गर्दै म मतदाताहरूको घरदैलोसम्म आइपुगेको छु," तामाङले भने, "कुनै पनि हिसाबमा हाम्रो पार्टीको नेतृत्वले र कुनै पनि मूल्यमा अहिले कोहीसँग हाम्रो अलायन्स हुने स्थिति छैन। र घोषित-अघोषित त्यस्तो कुनै छलफल चलेको छैन।"
ओली र बालेनको चर्चाबीच तामाङको प्रष्टीकरण झापा ५ यसपटक देशकै सबैभन्दा 'हट सिट' बनेको छ। यहाँ एमालेका तर्फबाट प्रस्तावित प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बालेन शाहबीच मुख्य भिडन्त हुने अनुमान गरिएको छ। बालेनको पक्षमा जनलहर देखिएपछि ओलीलाई सुरक्षित गर्न नेकपाले तालमेल गर्न लागेको चर्चा चलेको थियो। तर, तामाङले भने आजको दिनमा कसैसँग तालमेल नहुने भन्दै भ्रमका पर्दाहरू च्यातेर आफूलाई मत दिन आग्रह गरे।
उनले थपे, "आजको दिनमा हाम्रो कोहीसँग अलायन्स हुँदैन। कोही भ्रमित नहुनु। किसान, भूमिहीन सुकुम्वासी, शिक्षा, स्वास्थ्य र रोजगारका मुद्दामा म अडिग छु।"
यद्यपि, नेकपाका संयोजक प्रचण्डले हिजो मात्रै रास्वपालाई लक्षित गर्दै देश जोगाउन कांग्रेस र एमालेसँग मिल्नुपर्ने सङ्केत गरेपछि झापा ५ को चुनावी समीकरणलाई लिएर थप संशय पैदा भएको थियो। तर उम्मेदवार तामाङले भने निर्वाचन अगाडि यस्तो कुनै सम्भावना नरहेको भन्दै आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।