काठमाडौँ । १५औं महाधिवेशनको कार्यतालिकामा सहमति नजुटेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबार बस्ने गरी स्थगित गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव तयार नभएपछि महामन्त्री गगन थापाले बिहीबारको बैठक बहिष्कार गरेका थिए । त्यसपछि शुक्रबार बिहान थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले डा. शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।
महामन्त्रीहरूले आगामी पुस १६ देखि २० गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए । तर कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनकै पक्षमा रहे पनि समूहभित्र थप परामर्श आवश्यक रहेको भन्दै समय मागेका थिए ।
यसैबीच, बैठक नबस्दै स्थगित भएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले संस्थापन पक्षले नियमित र विशेष दुवै महाधिवेशन टार्ने प्रयास गरेको आरोप लगाए ।
‘हामीले मंसिरमा नियमित महाधिवेशनको प्रस्ताव गरेका थियौं, सहमतिमा पुससम्म पनि तयार थियौं,’ सिवाकोटीले भने, ‘तर अहिले फागुनमा महाधिवेशन गर्ने भनिँदैछ, जसले नियमित र विशेष दुवै विकल्प टार्ने देखिन्छ।’
उनका अनुसार विशेष महाधिवेशनको लागि हस्ताक्षर गरेका २ हजार ४८८ प्रतिनिधिको मतलाई बेवास्ता गरिएको छ । ‘हामी नियमित महाधिवेशनकै पक्षमा छौं, तर २४८८ प्रतिनिधिको भावना पनि सम्मान हुनुपर्छ,’ सिवाकोटीले जोड दिए ।
उनका अनुसार बैठक पर्सीसम्मका लागि छलफल गर्न स्थगित गरिएको बुझिएको छ ।