बनेपा (काभ्रे) । काभ्रेको बनेपा बजारमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव साम्य भएसँगै अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ।
बुधबार बिहान बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी तथा तोडफोड गरेपछि बनेपा बजार क्षेत्र तनावग्रस्त बनेको थियो। आगजनीका कारण केही समय अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्गको अवरोध हटाइएको छ। उनले नेपालप्रेससँग भने, ‘बनेपाका स्थानीयले टिपरमा आगजनी गरेपछि राजमार्ग अवरुद्ध भएको थियो। अहिले टिपरमा लागेको आगो निभाएर राजमार्गको अवरोध हटाएका छौँ।’
मृतक प्रधानको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। मृतकका आफन्तहरू अस्पतालमा जम्मा भइरहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने यातायातका साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्।