पाँच वर्षमै नेपाललाई डिजिटल हब बनाउने गगन थापाको रोडम्याप

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हबका रूपमा विकास गर्ने लक्ष्यसहित विस्तृत रोडम्याप सार्वजनिक गरेका छन्। एक भिडियो सन्देशमार्फत उनले सूचना प्रविधि क्षेत्रमा सीमित तर प्रभावकारी सुधारमार्फत नै ठूलो आर्थिक रूपान्तरण सम्भव रहेको दाबी गरे। उनले भने, ‘हामी गर्ने भनेर दत्तचित्त भएर लागेमा पाँच वर्षभित्र साँच्चिकै गर्न सक्छौँ प्रविधिको क्षेत्रमा । पाँच वर्षभित्र करिब चार खर्ब रूपैयाँको आईटी सेवा विदेशमा निर्यात गर्न सकिन्छ । दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ ।’

यसअघि कीर्तिपुरमा आयोजित एक सभामा ल्यापटप प्रयोग गरेर मासिक तीन–चार लाख रुपैयाँ आम्दानी गर्न सकिने अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचना र ट्रोलको सामना गर्नुपरे पनि थापाले उक्त भनाइ हावादारी नभई योजनाबद्ध आर्थिक दृष्टिकोणको अंश भएको स्पष्ट पारे। अघिल्लो सरकारको कार्यकालमा अध्यादेशमार्फत गरिएका साना नीतिगत सुधारहरूले पनि सकारात्मक परिणाम दिएको उल्लेख गर्दै उनले अब थप संरचनागत, नीतिगत र दीर्घकालीन सुधारमार्फत सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य राखिएको बताउँदै उनले पाँच वर्षभित्रै करिब चार खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात सम्भव रहेको दोहोर्‍याए। प्रस्तुत योजनाअनुसार दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्व बजारमा विस्तार गर्ने तथा तीनदेखि पाँचवटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य तय गरिएको छ। थापाले सूचना प्रविधि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र र युवा जनशक्तिबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया