काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहले कर्णालीको सभ्यता र संस्कृति जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। सुर्खेतमा आयोजित रास्वपाको आमसभालाई सम्बोधन गर्दै उनले कर्णालीका जनताको सपना अब उप्रान्त रास्वपाको सपना भएको उद्घोष गरे। कर्णालीको प्रकृति र सौन्दर्यको प्रशंसा गर्दै उनले यहाँको स्रोत र साधनको सही परिचालन हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
आफ्नै विशिष्ट शैलीमा संक्षिप्त सम्बोधन गरेका बालेनले राजा महेन्द्रको प्रसङ्ग कोट्याउँदै रारा ताललाई 'स्वर्गकी अप्सरा' को संज्ञा दिए। उनले भने, 'यो देशको सबैभन्दा ठूलो रारा ताल भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ। यहाँ देशकै सबैभन्दा गहिरो ताल छ, तर त्यो गहिराइलाई यो देशका पुराना सरकार र पार्टीहरूले बुझ्न सकेनन्। त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो।' उनले कर्णालीको उत्पादनलाई देशभर पुर्याउनुपर्नेमा जोड दिए।
बालेनले कर्णालीको स्थानीय उत्पादनको बजारीकरण नभएकोमा सरकारको आलोचना गरे। 'डोल्पाको यार्सागुम्बा विश्वभर पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन,' उनले प्रश्न गरे, 'यहाँको उत्पादनलाई देशभर पुर्याउने र सिन्जा उपत्यकाको सभ्यता जोगाउने पार्टी रास्वपा बन्न चाहन्छ।' उनले कर्णालीको गरिबी र पीडा बेचेर राजनीति गर्ने धेरै आए पनि यहाँको वास्तविक मर्म बुझ्ने नेता नआएको दाबी गरे।
कर्णालीबाटै पार्टीको 'वाचापत्र' घोषणा गरिएको जानकारी दिँदै बालेनले कर्णालीबासीको सपना बोकेर हिँड्ने आकांक्षा व्यक्त गरे। उनले जनताको सपना पूरा गर्ने सुरुवात वाचापत्रबाटै भइसकेको बताउँदै अबका दिनमा कर्णालीको हरेक सुख-दुःखमा रास्वपा साथ रहने प्रतिबद्धता जनाए।