गगन थापाको आह्वान: ‘नारा लगाउने हो भने अबकी बार सय पार लगाऔँ’

nepaltext.com

कास्की lनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउनै परे अब ‘अबकी बार सय पार’ को नारा लगाउन कार्यकर्तालाई आग्रह गरेका छन्। कास्कीको पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबी गर्दै अबको सरकार केवल कांग्रेसको हुने मात्र नभई प्रतिनिधिसभामा सयभन्दा बढी सिट जित्ने लक्ष्यसहित मत माग्नुपर्ने बताएका हुन्। यो लक्ष्य सम्भव रहेको दाबी गर्दै उनले भने, ‘मैले साथीहरूलाई भनेको छु मधेसका जाँदै गर्दा अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस् नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् ।’ उनले थप्दै भने, ‘त्यहाँ पुर्याउने हो यसपालि । मज्जाले जाने हो । सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’ सभापति थापाले यो लक्ष्य हासिल गर्न नेता–कार्यकर्ताले मेहनत गर्नुपर्नेमा जोड दिँदै भने, ‘मेहनत गर्नुपर्नेछ । पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर ल मेहनत गरौँ त एकपटक । १० लाख क्रियाशील भएको पार्टी हो यो । वडा वडा टोल टोलमा संगठन गर्ने पार्टी हो यो ।’ अन्त्यमा उनले फेरि कार्यकर्तालाई आह्वान गर्दै भने, ‘हामी आफ्नो तागत, हामीसँग भएको तागतलाई सम्झौँ बुझौँ । तल्लो तहसम्म जाऔँ र गएर भनौँ हामी देश सम्हाल्छौँ पनि हामी व्यवस्थालाई सुधार्छौँ पनि । हामी बदलिएर आएका छौँ । बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि । यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया