भारतमा आमनिर्वाचन लक्षित २५ लाख नक्कली नेपाली नोटसहित १० जना पक्राउ

nepaltext.com

काठमाडौँ । आमनिर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ। नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपास सक्रिय उक्त गिरोहलाई पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले भारतको सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा छापा मार्दै नियन्त्रणमा लिएको हो। छापामारीका क्रममा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना नै फेला पारेर ध्वस्त पारिएको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारबाहीका क्रममा २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १८ हजार पाँच सय नक्कली भारतीय रुपैयाँ तथा नोट छाप्न प्रयोग गरिने हाइटेक मेसिन बरामद गरिएको छ। त्यससँगै विशेष कागज, रसायन तथा अन्य आवश्यक सामग्रीसमेत जफत गरिएको छ। घटनामा संलग्न १० जना अभियुक्त पक्राउ परेका छन्, जसमध्ये तीन जना नेपाली नागरिक रहेको खुलाइएको छ। प्रारम्भिक अनुसन्धानमा बरामद गरिएको नक्कली नेपाली रुपैयाँ नेपालमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी प्रयोग गर्ने योजना बनाइएको खुलेको छ। गिरोहले सीमावर्ती क्षेत्रलाई प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने तयारी गरिरहेको पाइएको छ। छापामारीका क्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सुरक्षा निकायले गिरोहका अन्य सदस्य तथा यसका मुख्य योजनाकार अर्थात् मास्टरमाइन्डको खोजी तीव्र बनाइएको जानकारी दिँदै नक्कली नोटको कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि नछोडिने स्पष्ट पारेको छ।

प्रतिक्रिया