लामिछाने मुद्दा आजदेखि शर्मा–मुसलमान इजलासमा सुनुवाइ

nepaltext

काठमाडौँ । रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त मुद्दा न्यायाधीश विनोद शर्माअब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा पेशीका लागि तोकिएको छ।

यसअघि न्यायाधीश सारंगा सुवेदीसुनिलकुमार पोखरेल को इजलासले मुद्दा संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन आदेश दिएको थियो। सोही आदेशअनुसार महान्यायाधिवक्ताको कार्यालयले आवश्यक कागजात सर्वोच्च अदालतमा पेश गरेपछि आजबाट पुनः सुनुवाइ सुरु हुन लागेको हो।

महान्यायाधिवक्ता सविता भण्डारी ले यसअघि लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी मुद्दासँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल ‘सफल’ र कानुनका विद्यार्थी आयुष बडाल ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

पुस ३० गते जारी सात पृष्ठ लामो टिप्पणी तथा आदेशमार्फत महान्यायाधिवक्ताले लामिछानेलाई सहकारी ठगी मुद्दामा मात्र अभियोग लगाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउने निर्णय गरेको उल्लेख छ।

प्रतिक्रिया