धादिङ । धुनिबेँसी नगरपालिका–९, धादिङमा रहेको श्री महाकाली वाइन उद्योग प्रा.लि.को सञ्चालक समितिको अध्यक्षमा दामोदर अधिकारी चयन भएका छन्। उद्योगको विशेष साधारणसभाले अधिकारीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो। यसअघि उद्योगको अध्यक्षमा रबिन भेटवाल रहेका थिए। अध्यक्ष रविन भेटवालको ब्यवस्थापन माथि प्रश्न उठाउदै शुक्रबार फ्याक्ट्रीमा आयोजना गरेको विशेष साधारण सभाले भेटवाललाई बिस्थापित गरेर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, विशेष साधारणसभाले युवा व्यवसायी माधवप्रसाद सिलवाललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ। उद्योगको व्यवस्थापन तथा सञ्चालनलाई थप प्रभावकारी बनाउँदै व्यवसाय विस्तार गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको बताइएको छ।
महाकाली वाइन उद्योगको मुख्य उत्पादन ‘Devine Wine’ रहेको छ। वाइनरी क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित हुँदै गएको उद्योगले आगामी दिनमा नेपालको वाइन उद्योगमा अग्रणी कम्पनी बन्ने लक्ष्य लिएको जनाएको छ।
नवनियुक्त सञ्चालक माधवप्रसाद सिलवाल र उद्योगका शेयरधनी सन्तोष खड्का ‘Kings Hill Wine’ का समेत प्रमुख लगानीकर्ताका रूपमा रहेका छन्। दुवै कम्पनीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नेपाली वाइन बजारमा बलियो उपस्थिति कायम गर्ने लक्ष्य रहेको सिलवालले बताए। सिलवालका अनुसार महाकाली वाइन उद्योग र किङ्स हिल वाइनबीचको सहकार्यबाट उत्पादन, बजार विस्तार र व्यावसायिक विकासलाई थप गति दिँदै भविष्यमा नेपाली वाइन बजारमा अग्रणी कम्पनी बन्ने उद्देश्य रहेको छ।
नयाँ सञ्चालक समिति चयनसँगै उद्योगको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै उत्पादन क्षमता विस्तार, बजार प्रवर्द्धन तथा नेपाली वाइन उद्योगमा प्रतिस्पर्धात्मक उपस्थिति बढाउने योजना अघि बढाइने जनाइएको छ।