‘मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा सोधियो, त्यसको जवाफ २१ गते जनताले दिनेछन्’ : रवि लामिछाने

nepaltext.com

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजिए पनि जनताको साथले त्यो सम्भव नभएको बताएका छन्। फागुन २१ गते हुने उपनिर्वाचनको सिलसिलामा चितवन क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूमाथि भएको घेराबन्दीको स्मरण गरेका हुन्।

सम्बोधनका क्रममा सभापति लामिछानेले आफू पक्राउ परेको समयको चर्चा गर्दै भने, “हामीलाई घेराबन्दी गरेर उखेल्न र सखाप पार्न खोजिएकै हो। मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर समेत सोधियो। त्यसबेला मैले जवाफ दिइनँ, तर मेरो अन्तिम इच्छा के हो भन्ने कुराको जवाफ आगामी २१ गते यहाँका जनताले दिनेछन्।”

उनले आफूमाथि विभिन्न जिल्लामा लगाइएका मुद्दा र व्यक्तिगत अन्यायको लडाइँ कानुनी रूपमा आफैँले लड्ने स्पष्ट पारे। तर, विगत ३४ वर्षदेखि राजनीतिको आडमा जनताको सपनामाथि 'डोजर' चलाउने शक्तिहरूसँग भने जनताले नै हिसाब माग्नुपर्ने उनको तर्क थियो। “म प्रतिशोध साध्दिनँ, तर राज्यका संरचनाहरूलाई भर्ती केन्द्र बनाउने र बजेटको गलत वितरण गर्ने परिपाटीको अन्त्य यसपटक हुनैपर्छ,” उनले भने।

चितवनलाई 'इतिहास लेख्ने भूमि' को संज्ञा दिँदै लामिछानेले तीन वर्षअघि यहीँबाट सुरु भएको ‘निलो क्रान्ति’ अहिले देशैभर फैलिएर रास्वपा पहिलो पार्टी बन्ने दिशामा अघि बढेको दाबी गरे। उनले २१ गतेको मतदान केवल निर्वाचन मात्र नभई देशको युग परिवर्तन गर्ने एउटा निर्णायक क्रान्ति हुने विश्वास समेत व्यक्त गरे।

आफू देशका अन्य भूभागमा पनि चुनावी अभियानका लागि जाने भन्दै उनले चितवनको चेतना र उर्वरताप्रति आफू पूर्ण विश्वस्त रहेको बताए।

प्रतिक्रिया