निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले करिब डेढ वर्षपछि पुनः उडान अनुमति पाएको छ। २०८१ साउन ९ गते पोखरातर्फ उडान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो। सि–चेक नामक विस्तृत प्राविधिक निरीक्षणका लागि काठमाडौंबाट पोखरातर्फ उडेको जहाज दुर्घटनामा पर्दा क्याप्टेन मनिष शाक्य बाहेक १९ यात्रुमध्ये १८ जनाको ज्यान गएको थियो। उक्त जहाज रनवे ०२ बाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनापछि लामो समय निलम्बनमा परेको सौर्य एयरलाइन्सको एओसी माघ ४ गते प्राधिकरणले नवीकरण गर्दै यसअघिको निलम्बन समेत फुकुवा गरेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नवीकरण गरिएको एओसीको अवधि सन् २०२७ सम्म कायम रहनेछ। यससँगै प्राधिकरणले सौर्य एयरलाइन्सलाई चन्द्रगढी (भद्रपुर), विराटनगर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज र धनगढी विमानस्थलमा नियमित तथा वैकल्पिक उडान सञ्चालनको अनुमति दिएको छ।
दुर्घटनापछि डेढ वर्षदेखि उडान पुनः सञ्चालनका लागि अनुमति माग्दै आएको सौर्य एयरलाइन्सले अन्ततः नियामक निकायको सबै मापदण्ड पूरा गरेपछि सञ्चालन स्वीकृति पाएको हो। कम्पनीका बजार प्रमुख मुकेश खनालका अनुसार एउटा विमान काठमाडौं बाहिर सञ्चालन हुने र दुई वटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहने गरी प्राधिकरणबाट अनुमति प्राप्त भएको छ। ५० सिट क्षमताका सिआरजे–२०० सिरिजका तीन वटा विमानले हाल उडान अनुमति पाएका छन्।
हाल सौर्य एयरलाइन्सले काठमाडौं–भद्रपुर–विराटनगर रुटमा उडान गरिरहेको छ। खनालले भने, ‘अहिले हामी काठमाडौं–भद्रपुर–विराटनगर उडान गछौं,’ र थपे, ‘नेपालगञ्ज र मानसरोवरमा पनि उडान गर्ने योजना छ।’ कम्पनीले भविष्यमा थप तीन वटा नयाँ एटिआर–६०० सिरिजका जहाज खरिद गर्ने योजना बनाएको पनि उनले जानकारी दिए।
उडान पुनः सुरु गर्न आवश्यक सुरक्षा अडिट, तालिम, दस्तावेज सुधार तथा डिजिटल प्रणालीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको सौर्य एयरलाइन्सको दाबी छ। नियामक निकायको मापदण्डअनुसार गरिएको फ्लाइट सेफ्टी अडिट (एसएमएस) मा कम्पनीले ६५ प्रतिशत अंक प्राप्त गरेको छ, जबकि सामान्यतया एसएमएसमा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त हुनु सन्तोषजनक मानिन्छ।