मंसिर ७ गते देखि मेची महाकाली ठप्प हुन्छ, ब्यवस्था पूरा नभएसम्म महेन्द्र राजमार्ग मै बस्छौँ: दुर्गा प्रसाई

nepaltext.com

काठमाडौं । ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म देशव्यापी आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले मेचीदेखि महाकालीसम्मको सम्पूर्ण क्षेत्र ठप्प पार्ने दाबी गर्दै महेन्द्र राजमार्गमै बस्ने घोषणा गरे।

एनपीएल (नेपाल प्रिमियर लिग) का कारण आन्दोलन रोक्ने हो कि भन्ने प्रश्नमा प्रसाईंले आफूहरू कुनै पनि हालतमा आन्दोलन नछोड्ने बताएका छन्। उनले जनतालाई ‘घरमै बसेर एनपीएल हेर्न’ सुझाव समेत दिए।

प्रसाईंले भने, “व्यवस्था परिवर्तन नभएसम्म छ्याप्पै महेन्द्र राजमार्गमै बस्ने हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ। थपक्क घरमै बस्ने, क्रिकेट हेर्ने। बाटामा नआउने।”

देश ठप्प भएपछि क्रिकेट खेलाडीमैदानसम्म कसरी पुग्छन् भन्ने प्रश्नमा भने उनले हचुवैँ जवाफ दिए। प्रसाईंले भने, “खेलाडी त कुदेर पनि गइहाल्छन् नि। प्रश्नमाथि प्रश्न नगर्नुस् न।”

प्रतिक्रिया