'व्यवसाय मात्र होइन, समाजप्रति उत्तरदायी छौँ': व्यासका विद्यार्थीलाई झोला बाँड्दै हिमालयन लाइफ

nepaltext.com

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलाको व्यास गाउँपालिका–३, सिनास्थित श्री सिद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयका करिब ३१० जना विद्यार्थीहरूलाई झोला प्रदान गरेको हो।

भौगोलिक रूपमा अत्यन्तै कठिन र दुर्गम क्षेत्रमा रहेको यस विद्यालयका कतिपय बालबालिकाहरू कापी-किताब हातमा वा झुत्रो झोलामा बोकेर विद्यालय जान बाध्य थिए। उनीहरूको सोही बाध्यतालाई मध्यनजर गर्दै कम्पनीले सहयोगको हात अगाडि बढाएको जनाएको छ।

झोला वितरण कार्यक्रममा बोल्दै हिमालयन लाइफका उप-प्रादेशिक प्रमुख टेक राज आचार्यले विकट क्षेत्रका विद्यार्थीहरूलाई सानो सहयोग पुर्‍याउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए। उनले भने, "हामीले केवल व्यवसाय मात्र गर्दैनौँ, समाजप्रतिको उत्तरदायित्व पनि बोकेका छौँ। सिना जस्तो दुर्गम ठाउँका विद्यार्थीहरूको हातमा नयाँ झोला देख्दा हामीलाई गौरव महसुस भएको छ।"

सो अवसरमा आचार्यले शिक्षा नै भविष्यको आधार भएको चर्चा गर्दै जीवनमा आइपर्ने जोखिम व्यवस्थापनमा बीमाको महत्त्व र यसले प्रदान गर्ने आर्थिक सुरक्षाबारे समेत विद्यार्थी तथा अभिभावकहरूलाई प्रष्ट पारेका थिए।

विद्यालय व्यवस्थापन समिति र स्थानीयको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा कम्पनीका तर्फबाट दार्चुला शाखा प्रमुख नारायण सिंह ठगुन्ना, अपरेसन इन्चार्ज जयन्ती भट्ट तथा एजेन्सी म्यानेजरद्वय निर्मला बम र दीपेन्द्र बोहोराको उपस्थिति रहेको थियो।

प्रतिक्रिया