जनकपुर । जनकपुरधामस्थित मधेस भवनभित्र रहेको मधेस प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भएको छ ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई एकलौटी ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा सहित सातदलीय गठबन्धनका सांसद र कार्यकर्ताहरू आक्रोशित बनेका हुन् ।
आक्रोशित प्रदर्शनकारीहरूले प्रदेश प्रमुखको नाम अंकित नेमप्लेट, मुख्य प्रवेशद्वार अगाडिका गमला तथा सजावटका सामग्री तोडफोड गरेका छन् । सो क्रममा उनीहरूले ‘प्रदेश प्रमुख मुर्दाबाद’, ‘एकलौटी निर्णय मान्य छैन’ जस्ता नाराहरू पनि लगाए ।
घटनापछि मधेस भवन परिसरमा ठूलो संख्यामा प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
भवनबाहिर भने जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, जनमत लगायत सातदलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरूले टायर बाल्दै विरोध प्रदर्शन जारी राखेका छन् ।
२५ कार्तिक २०८२, सोमबार ११:५४ मा प्रकाशित