देश र मधेश दुखिरहेको बेला परिस्थिति सम्हाल्न सक्ने शक्ति छानौँ: विश्वप्रकाश शर्मा

nepaltext.com

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश र मधेश दुवै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो समयमा परिस्थिति सम्हाल्न सक्ने शक्तिलाई जिताउनुपर्ने आवश्यकता औँल्याएका छन्।

बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन सामान्य चुनावी प्रतिस्पर्धा मात्र नभएर व्यवस्था र पद्धतिको भविष्यसँग जोडिएको बताए। सम्बोधनका क्रममा उनले भने, ‘हामी जान्दछौँ-यो बेला देश दुखिरहेको छ, मधेश दुखिरहेको छ। अहिले मूल प्रश्न कसलाई जिताउने भन्ने होइन, यो परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।’

उपसभापति शर्माले कांग्रेसका लागि जित वा हार नौलो विषय नभएको प्रष्ट पार्दै अहिलेको मुख्य चुनौती समाजको सद्भाव र लोकतान्त्रिक पद्धतिलाई जोगाउनु रहेको तर्क गरे। उनले थपे, ‘कसले जित्ने भन्ने होइन, कसले सम्हाल्ने भन्ने हो। कांग्रेसले जिन्दगीमा धेरै चुनाव जितेको छ, धेरै हारेको पनि छ। जित–हार हाम्रो लागि नौलो कुरा होइन। तर आजको प्रश्न पद्धति जोगाउने कि हार्ने भन्ने हो। समाजको सद्भाव कसले कायम राख्न सक्छ भन्ने हो।’

मधेशको योगदानप्रति विशेष सम्मान व्यक्त गर्दै शर्माले मधेशलाई देशको प्राण र अन्न भण्डारको रूपमा चित्रण गरे। मधेशका किसानहरूको परिश्रमले नै मुलुक चलेको उल्लेख गर्दै उनले भने, ‘सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो। मधेशका किसान र उनीहरूको प्रत्येक दानाप्रति कृतज्ञता व्यक्त गर्न हामी यहाँ आएका हौँ।’

कांग्रेसले मधेशको मुद्दा र यहाँको विकासलाई आफ्नो प्राथमिकतामा राखेको दाबी गर्दै उनले चुनावी अभियानमा सबैलाई एकजुट हुन आग्रह समेत गरे।

प्रतिक्रिया