काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र जबरजस्ती रूपान्तरणको प्रयास सुरु गरिएको बताएका छन् । कांग्रेस रामेछापको कार्यक्रममा सम्बोधन गर्दै उनले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ स्थानमा नयाँ अनुहार अघि सारिएको जानकारी दिए । उनले भने, ‘अघिल्लो चुनावमा गठबन्धन गरेर हामी चुनाव नै कम क्षेत्रमा लडेका थियौँ। सबै समुदायलाई समेट्न सकिएको थिएन, अहिले हामीले सबैलाई समेट्ने प्रयास गरेका छौँ।’ पार्टीभित्र सबै पक्षबीच सन्तुलन मिलाएर टिकट वितरण गरिएको उनको भनाइ थियो । मतदाता अन्योलमा पर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेसीहरुले मतपत्रमा कुन चिन्हमा हाल्ने हो भनेर खोजिराख्नुपर्ने पद्धतिको अन्त्य गरेको छौँ। सबैले रुख चिन्हमा भोट हाल्न पाउनेगरी उम्मेदवारी दर्ता गराएका छौँ। अरू कुनै दलले १६५ वटै क्षेत्रमा उम्मेदवार बनाएका छैनन्, १६५ निर्वाचन क्षेत्रमा भएको चिन्ह रुख मात्रै हो, हाम्रो प्रतिस्पर्धी अरू कुनै दलको छैन ।’