दोलखा भलिबल कप: सिद्धलेखलाई हराउँदै तामाकोशी तेस्रो, भोलि उपाधिका लागि फाइनल भिडन्त

nepaltext.com

जिरी, दोलखा दोलखाको जिरीमा जारी बागमती र कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा तामाकोशी गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ। 'दोलखा कप, खेलकुद महासंग्राम २०८२' अन्तर्गत मंगलबार भएको तेस्रो स्थानको प्रतिस्पर्धात्मक खेलमा तामाकोशीले सिद्धलेख गाउँपालिकालाई ३-१ को सेटमा पाखा लगाउँदै जित दर्ता गरेको हो।

दोलखा एकीकृत र जिरीको संयुक्त आयोजनामा सञ्चालित यस खेलकुद महासंग्राममा दुई प्रदेशका कुल ११ वटा पालिका स्तरीय टिमहरूले सहभागिता जनाएका थिए। माघ २४ गतेदेखि सुरु भएको यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको माहोल तताउनुका साथै दुई प्रदेशबीचको खेल सम्बन्धलाई थप प्रगाढ बनाएको छ। प्रतियोगिताका खेलहरूमा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको बाक्लो उपस्थितिले जिरीको खेल मैदान निकै उत्साहपूर्ण देखिएको छ।

यसैबीच, प्रतियोगिताको अन्तिम तथा निर्णायक फाइनल खेल भोलि (बुधबार) हुने भएको छ। आयोजक समितिका अध्यक्ष नोर्गेन शेर्पाले दिनुभएको जानकारी अनुसार भोलि बिहान १० बजेदेखि फाइनल खेल सुरु हुने तालिका तय गरिएको छ। अध्यक्ष शेर्पाले प्रतियोगिताको सफल समापन र उपाधि विजेताको टुङ्गो लाग्ने उक्त विशेष खेलमा सहभागी भई खेलाडीहरूको हौसला बढाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई आग्रह समेत गर्नुभएको छ।

प्रतिक्रिया