दोलखा, कुरी - नेपालको खेलकुद इतिहासमा एउटा नयाँ र गर्विलो अध्याय थपिएको छ। दोलखाको प्रसिद्ध पर्यटकीय स्थल कुरी, कालिञ्चोकमा पहिलो पटक 'प्रथम हाई अल्टिच्युड महिला तथा पुरुष खुल्ला फुलकन्ट्याक्ट (क्याेकुशिन-सेईसिन) कराँते प्रतियोगिता-२०८१' भव्यताका साथ सम्पन्न भएको छ।
समुन्द्री सतहदेखि करिब ३,४०० मिटरको चुनौतीपूर्ण उचाइमा आयोजना गरिएको यो प्रतियोगिता विश्वकै फुल कन्ट्याक्ट कराँतेको इतिहासमा हालसम्मकै उच्च स्थानमा भएको पहिलो प्रतियोगिता भएको दाबी गरिएको छ।
प्रतियोगिताको मुख्य नतिजा
प्रतियोगितामा देशभरका चुनिएका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। जसको नतिजा निम्न अनुसार रहेको छ:
विधाप्रथमद्वितीयतृतीयपुरुष खुल्ला तौल समूहशिव बहादुर भुजेलसुलभ माझीअभय राउत र रविन्द्र लुहारमहिला खुल्ला तौल समूहसपना ऐडीसुस्मा तामाङउषा रावल र मनिता राई
उत्कृष्ट खेलाडी: कृष्टी खड्का
विशेष आकर्षण: ५४ स्टेपको 'शुशिहो काँता'
प्रतियोगिताको विशेष आकर्षणको रूपमा संघका केन्द्रीय अध्यक्ष एवं ब्रान्चचिफ शिहान अशोक कुमार श्रेष्ठले कराँतेको सबैभन्दा लामो काँतामध्येको एक 'शुशिहो काँता' (५४ स्टेप) प्रदर्शन गर्नुभएको थियो। उक्त उचाइ र ठिहीमा शिहानको जोशिलो प्रस्तुतिले दर्शक र खेलाडीहरूलाई थप उत्साहित बनाएको थियो।
विश्व रेकर्डको दाबी
आयोजक नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठका अनुसार, ३,४०० मिटरको उचाइमा फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुनु आफैंमा विश्व कीर्तिमान हो। "विश्व फुल कन्ट्याक्ट कराँतेको इतिहासमा यति धेरै उचाइमा अहिलेसम्म कुनै पनि औपचारिक प्रतियोगिता भएको छैन, यो नेपाल र नेपाली कराँतेका लागि गौरवको विषय हो," उहाँले बताउनुभयो।
आयोजक र आतिथ्यता
यो ऐतिहासिक प्रतियोगिता नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघ र दोलखा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कालिञ्चोक गाउँपालिकाकी वडा सदस्य मैना तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले खेलकुदको माध्यमबाट उच्च हिमाली भेगको पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।