नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनप्रति आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्याउँदै चुनाव स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा हुनुपर्नेमा जोड दिएको छ । पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक व्यवस्थामा शासनको वैधताको आधार जनताको मत र जनताको मन नै हुने उल्लेख गर्दै प्रत्येक मतदाताले निर्भीक र स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उम्मेदवारले पनि कुनै भय, दबाब वा अवरोधबिना सुरक्षित रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउने वातावरण बनाइनु आवश्यक रहेको उनको भनाइ थियो । ‘कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी हो, जनता नै मालिक हुन् भन्ने प्रणालीमा हाम्रो अडान छ,’ भन्दै उनले निर्वाचनको विश्वसनीयता र सुरक्षामा सरकार पूर्ण रूपमा केन्द्रित हुनुपर्ने आग्रह गरे । प्रवक्ता चालिसेले आगामी निर्वाचनमा पनि कांग्रेसको मुख्य प्रतिस्पर्धी विगतझैँ पुरानै राजनीतिक शक्ति रहने दाबी गर्दै पार्टी चुनावी प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।