टुटेश्वरनाथ महादेव मन्दिरमा गृहमन्त्री गुरुङको विशेष पूजा

nepaltext

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना गरेका छन्। आइतबार मन्दिर पुगेका उनले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा गरेका हुन्।

‘नेपालको बाबाधाम’ तथा ‘मधेशको कैलास’का रूपमा परिचित टुटेश्वरधाममा गृहमन्त्री गुरुङले भगवान् टुटेश्वरनाथ महादेवको दर्शनसमेत गरेका थिए।

पूजापछि उनले साउन महिनाभर सञ्चालन भइरहेको धार्मिक मेलाको सुरक्षा व्यवस्था, भीड व्यवस्थापन तथा श्रद्धालुलाई उपलब्ध गराइएका सेवा–सुविधाबारे जानकारी लिएका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवका अनुसार मन्दिरका पुजारी श्रीचन दासले गृहमन्त्रीबाट विशेष पूजा सम्पन्न गराएका थिए। भ्रमणका क्रममा गृहमन्त्रीलाई मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे पनि जानकारी गराइएको थियो।

अध्यक्ष यादवले टुटेश्वरनाथ महादेव मन्दिरको संरक्षण, प्रवर्द्धन र दीर्घकालीन विकासका लागि पुरातात्त्विक अध्ययन आवश्यक रहेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताए।

साउन महिनाभर नेपाल र भारतका लाखौँ श्रद्धालु जल अर्पण गर्न टुटेश्वरनाथ महादेव मन्दिर पुग्ने गर्छन्। यस अवधिमा आयोजना हुने धार्मिक मेलाका कारण टुटेश्वरधाम मधेश प्रदेशको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ।

मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङ टुटेश्वरधाम परिसरस्थित श्री रत्न छोलिङ गुम्बामा पनि पुगेका थिए। त्यहाँ उनले गौतम बुद्धको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्दै विश्व शान्तिको कामना गरेका थिए।

प्रतिक्रिया