काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको आफ्नो ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे का अनुसार यसअघि फागुन ३ गते आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा सार्वजनिक गर्ने तय गरिएको कार्यक्रम परिमार्जन गरिएको हो। संशोधित कार्यतालिकाअनुसार अब उक्त प्रतिज्ञा पत्र जनकपुरमा आयोजना हुने आमसभाबाट सार्वजनिक गरिनेछ।
प्रवक्ता चालिसेले विज्ञप्ति जारी गर्दै आमसभा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति को आयोजनामा सम्पन्न हुने जानकारी दिएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ फागुन २१ गते सम्पन्न हुने सन्दर्भमा चुनावी माहोललाई थप सशक्त बनाउन र मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै कार्यक्रम जनकपुरमा सारिएको जनाइएको छ।