काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरातमा पक्राउ गरेको छ। सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो।
निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। प्रसाईंका पछिल्ला गतिविधि र अभिव्यक्तिहरूले सार्वजनिक शान्ति सुरक्षामा गम्भीर असर पुर्याएको भन्दै आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्र पठाएको थियो।
काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, प्रसाईंको बाहिरको उपस्थिति सार्वजनिक शान्तिका लागि चुनौती हुने आयोगको ठहर बमोजिम उनलाई तत्कालै पक्राउ गरिएको हो। "निर्वाचन आयोगको आग्रह र शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर उहाँलाई नियन्त्रणमा लिइएको हो," प्रवक्ता भट्टराईले बताए।
प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ। यस कसुरमा प्रहरीले आरोपितलाई बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ।
प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउनका लागि आज कार्यालय समय सुरु हुनासाथ म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ।