इप्पानद्वारा १६ हजार मेगावाटको पीपीए प्रकृया खुला गर्न माग

nepaltext

काठमाडौं ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको मागलाई संवोधन गर्न भन्दै नेपाल विद्युत प्राधिकरणलाई १३ बुँदे माग प्रस्तुत गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टेलीले सोमबार प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसमक्ष भेट गर्दै आवेदन दिएका १६ हजार मेगावाट बराबरको आयोजनाको उर्जा खरिद सम्झौता (पीपीए) खुला गर्न माग गरे।

‘लामो समयदेखि पीपीए हुन नसकेका आयोजनाको समस्या तत्काल समाधान गर्ने १६ हजार मेगावाटको सीमा नै खुला गरेर सबै योग्य आयोजनाको पीपीए प्रक्रिया अघि बढाउनु पर्छ । पीपीए रोकिँदा अध्ययन तथा निर्माणको चरणमा रहेका आयोजनाहरूको लगानी, वित्तीय व्यवस्थापन र समग्र आयोजना विकासमा असर परेको छ’, भेटमा अध्यक्ष डाँगीले भने ।

उनले निजी क्षेत्रले विद्युत्‌ उत्पादनमा ठूलो लगानी गरिसकेको र आगामी दिनमा पनि ठूलो लगानी गर्ने तयारीमा रहेकाले नीतिगत तथा कार्यान्वयन तहका समस्याका कारण लगानीको वातावरण बिग्रन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, पछिल्लो समय प्राधिकरणबाट जारी गरिएको जलविद्युत्‌ आयोजनाको विद्युत्‌ खरिद विक्री सम्झौताको लागि विद्युत्‌ शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि, २०८३ का कारण निजी ऊर्जा उत्पादकमा थप अन्योल सिर्जना भएको भन्दै उक्त निर्देशिका खारेज गर्न इप्पानले माग गरेको छ ।

निजी क्षेत्रका समस्यालाई सामान्य प्रशासनिक विषयका रूपमा नभई ऊर्जा क्षेत्रको दीर्घकालीन विकाससँग जोडिएको विषयका रूपमा लिएर समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

इप्पानले निजी क्षेत्र र प्राधिकरणबीच सहकार्य बलियो बनाएर मात्रै मुलुकले उत्पादन गरेको विद्युत्‌को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार र विद्युत्‌ निर्यातको लक्ष्य हासिल गर्न सकिने भन्दै आगामी दिनमा प्राधिकरण र निजी क्षेत्रबीच समस्या–समाधानमुखी संवादलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएको छ।

इप्पानले प्राधिकरणसमक्ष पेस गरेको मागपत्रमा प्राधिकरणको प्रसारणलाइन निर्माणमा भएको ढिलाइका कारण प्रवर्धकलाई परेको आर्थिक क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने, प्रसारणलाइन उपलब्ध नभएसम्म ‘कन्टिन्जेन्सी’ तथा ‘टेक एण्ड पे’ पीपीएको अभ्यास अन्त्य गरी आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत्‌ खरिद सुनिश्चित हुने व्यवस्था गर्नुपर्ने तथा माग अघि सारेको छ।

भेटमा नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत्‌ आयोजनाको विद्युत्‌ खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने तयारी गरेको प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताए।

इप्पानको प्रतिनिधिमण्डलसँगको भेटमा श्रेष्ठले आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थपका लागि पनि प्राधिकरणले प्रक्रिया अघि बढाएको बताए।

उनले आरसीओडी थपसम्बन्धी विषयमा आयोजना र समस्याको प्रकृतिअनुसार ‘ए’ र ‘बी’ समूह बनाएर काम सुरु गरिसकिएको जनाए।

निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि नेपाल विद्युत्‌ प्राधिकरण र इप्पानबीच संयुक्त संयन्त्र बनाएर अघि बढ्न आफूहरू तयार रहेको पनि कामु कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्। निजी क्षेत्रका ऊर्जा उत्पादकसँग नियमित संवाद, समस्या पहिचान र समाधानका लागि संस्थागत संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, निजी क्षेत्रलाई विद्युत्‌ व्यापार र प्रसारण क्षेत्रमा सहभागी गराउने विषयमा समेत प्राधिकरण सहजीकरण गर्न तयार रहेको श्रेष्ठले बताएका छन् ।

विद्युत्‌ उत्पादनमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले आगामी दिनमा विद्युत्‌ व्यापार, प्रसारणलगायतका क्षेत्रमा समेत निजी क्षेत्रको सहभागिता विस्तार गर्न सहजीकरण गर्ने उनको भनाइ थियो ।

इप्पानले अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंक लगानीका लागि योग्य हुने ‘बैंकएबल’ पीपीए तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने, निजी क्षेत्रका आयोजनाको ग्रिड कनेक्सन प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउनुपर्ने तथा प्राधिकरण र निजी ऊर्जा उत्पादकबीच नियमित संवाद, समस्या समाधान र नीतिगत समन्वयका लागि स्थायी संयुक्त संयन्त्र गठन गर्नुपर्ने मागसमेत अघि सारेको छ।



प्रतिक्रिया