नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला समेत चुनावअघि महाधिवेशन गर्ने विषयमा सहमत भएका छन्। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सोमबार भएको भेटवार्तापछि उनीहरू पुसभित्रै १५ औँ महाधिवेशनका कार्यतालिका ल्याउन तयार भएको स्पष्ट भएको हो। निधि, सिटौला, विजयकुमार गच्छदार, सीता गुरूङ, किरण पौडेल, कुन्दनराज काफ्ले र गुरू बराललगायतका नेताहरूले पहिलो चरणमा कार्यवाहक सभापति खड्कासँग छलफल गरेका थिए। त्यसपछि उनीहरू देउवालाई भेट्न निवाससमेत पुगेका थिए।
निधिले भनेका छन्, “हामीले कार्यवाहक सभापति र सभापतिज्यूसँग कुराकानी गर्यौं, पुसभित्रै १५ औं महाधिवेशन गर्ने कार्यतालिका कार्यवाहक सभापतिजीले आजको केन्द्रीय समितिमा पेस गर्दै हुनुहुँदो रहेछ, हामीले सहमति जनाएका छौं।” उनका अनुसार पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह समेतको सहमतिमा उनीहरू पुसमै महाधिवेशन गर्न तयार भएका हुन्।
निधिले कार्यवाहक सभापतिले पार्टी कार्यालय सानेपामा आफूहरूलाई कुराएको बताउँदै थपे, “उहाँले सभापतिज्यूकै निर्देशनमा पुसका लागि कार्यतालिका ल्याउन लागेको र तपाईंहरूको सहयोग चाहियो भन्नुभयो, त्यसो हो भने सभापतिजीकहाँ हामी जान्छौं र उहाँसँगै कुरा गर्छौं भनेर सभापतिजीकै निवासमा गएर कुरा पनि गर्यौं।” उनका अनुसार सभापति देउवाले निकास खोज्ने पहल गरेका कारण त्यसलाई समर्थन गरिएको हो। निधिले भने, “तपाईंले नै अग्रसरता लिएर निकास दिन लाग्नुभएको छ, त्यसलाई अहिले हामी समर्थन गर्छौं। तर निर्वाचनलाई प्राथमिकता दिने र निर्वाचनपछि महाधिवेशन गर्ने भन्ने धारणा थियो, त्यो विकल्प कायमै रहन्छ।”
पुसको अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यवाहक सभापति खड्काले आजको केन्द्रीय समितिमा प्रस्ताव राख्ने तयारी छ। यसअघि पनि पुसभित्रै नियमित महाधिवेशन गर्न सभापति, कार्यवाहक सभापति, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, रमेश लेखक र बालकृष्ण खाण तयारी अवस्थामा थिए। त्यतिबेला नेताहरू निधि र सिटौलाले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्ने बताएका थिए, जसलाई सम्बोधन गर्न शीर्ष नेताहरू सक्रिय बनेका हुन्।
कांग्रेसभित्र फागुन २१ गतेको चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा मत विभाजन देखिएको छ। करिब ९० जना केन्द्रीय सदस्य चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा थिए भने २८ जना चुनावअघि नै गर्नुपर्ने मतमा उभिएका थिए। त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए, जसअनुसार पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नुपर्ने अवस्था थियो। सोही अवधिमा नियमित महाधिवेशन गर्न शीर्ष नेताहरू अब सहमत भएका हुन्।
कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य रहेकोमा अहिलेसम्म ६ लाख सदस्यता नवीकरण भएको छ तर नयाँ क्रियाशील वितरण भएको छैन। अब कार्यतालिकामा सदस्यतालाई टुंगो लगाउनेदेखि सात तहका अधिवेशन मिति तय गर्ने प्रक्रियासमेत समावेश हुनेछ। विशेष महाधिवेशनका पक्षधर नेता बलदेव तिमल्सिनाले चुनावअघि नियमित महाधिवेशन सम्भव हुने तर यसअघि कतिपय नेताले अनावश्यक रूपमा समय खेर फालेको आरोपसमेत लगाए। उनले भने, “क्रियाशील सदस्यता फाइनल गरी क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने र ती महाधिवेशन प्रतिनिधि मार्फत मंसिरभित्र नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सक्ने अवस्था अझै छ। यो बाटो अपनाउँदा केन्द्रीय समितिको म्याद थप्न पर्दैन र केवल दुई तहको महाधिवेशनले नै काम सकिन्छ। यसरी गर्दा निर्वाचनको समयसमेत मिल्छ र पार्टी तल्लो तहसम्म चलायमान हुन्छ।”