नेपाली कांग्रेसद्वारा चुनावी 'प्रतिज्ञापत्र' अनुमोदन, आजै जनकपुरबाट सार्वजनिक गरिँदै

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र (प्रतिज्ञापत्र) अनुमोदन गरेको छ।

बुधबार बिहान ११ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले उक्त प्रतिज्ञापत्रलाई सर्वसम्मतिले पारित गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। निर्वाचनका लागि पार्टीको नीति र योजना समेटिएको यो दस्तावेजलाई कांग्रेसले यसपटक विशेष महत्त्व दिएको छ।

पार्टीले अनुमोदन गरेको उक्त प्रतिज्ञापत्र आजै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने विशेष चुनावी सभामा सार्वजनिक गरिँदैछ। जनकपुरको तिरहुतियामा दिउँसो २ बजे सुरु हुने पहिलो चुनावी सभामा पार्टी सभापति गगन थापाले प्रतिज्ञापत्रको औपचारिक विमोचन गर्ने कार्यक्रम तय भएको कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ।

नेपाली कांग्रेसले यसपटकको निर्वाचनका लागि ‘भिजन १०’ को अवधारणा अघि सारेको छ। यसअघि नै सार्वजनिक गरिएको यो अवधारणामा पार्टीले आगामी दश वर्षका लागि मुलुकको विकास र समृद्धिको खाका प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

जनकपुरको सभालाई सभापति थापा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जसलाई कांग्रेसले चुनावी अभियानको 'शक्ति प्रदर्शन' को रूपमा लिएको छ।

प्रतिक्रिया