झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता भएको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा आयोजना गरिएको ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष ओलीले चुनावी प्रक्रियामा पारदर्शिताको महत्त्वमाथि जोड दिएका हुन्। उनले भनेका छन्, ‘उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो।’
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारतर्फ लक्षित गर्दै ओलीले मतदातालाई नझुक्क्याउन आग्रह गरे। उम्मेदवार नागरिकबाट भाग्न नहुने तर्क गर्दै उनले भने, ‘उम्मेदवारहरू नागरिकभन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्याएर चुनाव अवधिभर झुक्क्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू र आफ्नो पार्टी सधैं जनउत्तरदायी रहेको दाबी गरे। उनले थपेका छन्, ‘हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौँ। त्यसैले हामीमाथि आलोचना र विरोधहरू पनि सुनिन्छन्। कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौँ। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ।’
आफू सधैं नागरिकहरूको साथमा रहेको स्पष्ट पार्दै उनले राजनीतिमा इमानदारिता आवश्यक रहेको बताए। उक्त सार्वजनिक बहस कार्यक्रममा झापा-५ का उम्मेदवारहरू एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसकी मन्धरा चिमोरिया पौडेल, र नेकपा (माओवादी केन्द्र) का रञ्जित तामाङ लगायतको उपस्थिति थियो। यद्यपि, सोही क्षेत्रका रास्वपा उम्मेदवार भने बहसमा सहभागी भएनन्।