काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचाररत रहँदा नेतृत्व परिवर्तनको विषय उठाउनु असमयिक भएको बताएका छन् ।
आइतबार जेन–जी आन्दोलनका क्रममा जलाइएको आफ्नो घर अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “२३ गते आउनुभन्दा केही दिन अगाडि उहाँ एकदमै ठिक हुनुहुन्थ्यो। अहिले प्रश्न उठाइरहनुभएका साथीहरू त उहाँकै सबैभन्दा नजिकका मान्छेहरू हुनुहुन्थ्यो। अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुन पर्खन सक्दैनौँ र? यस्तो बेला हतारमा प्रश्न उठाउनु शोभनीय हुँदैन।”
उनले सभापतिमाथि त्रासपूर्ण आक्रमण भएको संवेदनशील घडीमा जिम्मेवार नेताहरू पर्याप्त संवेदनशील हुन नसक्नु दुर्भाग्य भएको समेत बताए।
डा. महतका अनुसार, नयाँ परिस्थितिबारे पार्टीभित्र गम्भीर छलफल गरेर आवश्यक सुधार गर्दै अघि बढ्नु आजको आवश्यकता हो।
५ असोज २०८२, आईतबार ११:५८ मा प्रकाशित