काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलबार २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ ग्रहण कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम भौतिक र भर्चुअल दुबै विधिबाट सम्पन्न हुने व्यवस्था गरिएको छ। नेकपाका नेता गंगालाल तुलाधरले जारी गरेको सूचनाअनुसार, काठमाडौं उपत्यकामा रहेका सदस्यहरूले पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे उपस्थित भएर भौतिक रूपमा शपथ लिन सक्नेछन् भने उपत्यका बाहिर रहेका सदस्यहरूले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिन सक्नेछन्।
शपथ ग्रहण गरेपछि केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र प्राप्त गर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ। शपथ ग्रहणमा सहभागी २४९९ सदस्यको नामावली टुङ्गो लगाउन हाल पेरिस डाँडामा ६ सदस्यीय कार्यदलको बैठक चलिरहेको छ। उक्त कार्यदलमा पूर्वमाओवादीतर्फ देव गुरुङ, वर्षमान पुन र गिरिराजमणि पोखरेल रहेका छन् भने तत्कालीन एकीकृत समाजवादीतर्फ प्रमेश हमाल, बेदुराम भुसाल र प्रकाश ज्वाला सहभागी छन्।
२४९९ सदस्यकै सङ्ख्याभित्रबाट पदाधिकारी, केन्द्रीय कार्यालय, सचिवालय, विभिन्न आयोग, विभाग तथा निकाय निर्माणको तयारी भइरहेको नेकपा स्रोतले जनाएका छन्। पार्टी एकतामा सामेल विभिन्न वाम घटकका नेताहरूले आ–आफ्ना तर्फबाट अलग अलग नाम पेश गरेका छन्। सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल र वामदेव गौतम लगायतले आ–आफ्ना समूहका नाम दिएको र पदाधिकारी तथा सचिवालयलगायत जिम्मेवारी मागेको उल्लेख छ। कार्यदलमा रहेका हमाल र भुसाल माधवपक्षको प्रतिनिधित्व गर्छन् भने ज्वाला झलनाथ खनालको प्रतिनिधित्वमा छन्।