‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ : मेयर गोपाल हमाल

nepaltext.com

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पार्टीभन्दा जनता रोजेको बताएका छन्। मेयर हमालले सामाजिक सञ्जालमार्फत एक तस्वीर सार्वजनिक गर्दै ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ भन्ने सन्देश लेखेका हुन्। २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको मेयर निर्वाचित भएका हमाल हालसम्म कुनै पनि राजनीतिक पार्टीमा आबद्ध छैनन्।

उनसँगै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन शाह भने पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दै प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर जितेका हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गरी सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। स्वतन्त्र मेयरहरू प्रतिनिधिसभा चुनावमा सक्रिय रूपमा होमिँदै जाँदा हमाल भने मेयर पदबाट राजीनामा नदिई उपमहानगरपालिकाकै काममा केन्द्रित रहेको देखिन्छ।

स्थानीय तह निर्वाचनमा हमालले नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै मेयरमा विजय हासिल गरेका थिए। हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा वडले १४ हजार ८१७ मत ल्याएका थिए भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए। स्थानीय सरकार सञ्चालन र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको सन्देशसहित हमालको पछिल्लो अभिव्यक्तिले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।

प्रतिक्रिया