“सिंहदरबार पनि नजलोस्, गोली पनि नचलोस् देश सम्हाल्ने समय आएको छ”: गगन थापा

nepaltext.com

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनअपेक्षा पूरा गर्दै देशलाई स्थायित्व र सुशासनको मार्गमा अघि बढाउनु अहिलेको प्रमुख दायित्व भएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका थापाले आगामी पाँच वर्ष सरकारका लागि परिणाम दिने परीक्षा काल हुने उल्लेख गरे।

मतदातासँग भेटघाटका क्रममा उनले भने, “अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् । युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।” उनले भावनात्मक आवेगभन्दा जिम्मेवार र अनुभवसहितको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै जोशसँगै होस र उत्साहसँगै अनुभवका साथ काम गर्नुपर्ने दायित्व रहेको बताए।

थापाले अब जनतालाई परिणाम दिनुपर्ने समय आएको र बहानाबाजी गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे। सबै राजनीतिक दललाई साथमा लिएर दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने दिशामा काम गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसले परिणाममुखी ढंगले काम गर्ने दाबी गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका आधारभूत क्षेत्रमा प्राथमिकताका आधारमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

सर्लाही–४ का मतदातामाझ प्रस्तुत उनको धारणा आगामी निर्वाचनलाई परिणाम र स्थायित्वको एजेन्डासँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया